जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन्, आफ्नो त्यति पनि छैन कोठाभित्र पसी रे । किन नपस्नु त कोठामा ?
बिनसित्तिको बुहार्तन ! पहाडिया सासू ता नपरोस् छिः कसैलाई । के जखडबन्धी ! फलामे बोलीले बैँसको आङ कस्ने सार्है ! धोती चुन्न, दोलाइँ पट्याउन, कूचो लाउन, टेबिल सज्न, सम्याउन पनि कोठाभित्र नपस्नू रे ! पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? छोरालाई पक्रन गा छैन क्यारे उनको ?" यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालाभरि रङ्गी-बिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एकताका बैँसको मीठो रूपौली मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निक्कै मजाको कुरा हो । रावणको चोरी भाव आयो । चोरी सीताको सौन्दर्य एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक कोठामा थुनिनु, झिँगटीमुनि बस्नु, एक जनाको सम्पत्ति र एकलौटी ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? दाल, भात, डुकु पुगनपुग दासत्व– एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दरी भनेर हँस्सी-दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् ।