Jump to content

Page:Champa.pdf/37

From Nepali Proofreaders
This page has been proofread

नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । उनको सासमा जलनको मिठो दबेको उच्छ्‌वास छ न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कुमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो, अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस, खत्तम । स्त्री आत्माको चाख या प्यासको बलजफ्ती हो । विधिको सुर्काउने । छिः न गान, न नाच, न भावना, हकि हाम्रो नेपाली जीवन ?"

चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतीको हुनुपर्दछ । यस बेलामा जस्तो झनक्क रिस कहिल्यै उठ्दैन । यस बेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँकको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ ।

चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्पचित्रमा कसर हुँदो हो; गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा, पातला दिवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचम्सुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन । तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिईकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म-पाप लाग्छ । यताउति विचार गर्नु– त्यो पनि आफ्नै । तर जरुर प्रकृतिले उनलाई