"अँ, मार्दैनन् अर्कालाई !"
"कसले मार्ने ?"
"कुन्नि त । खुर्सानीको हातले गाला मुसारिछु भन्छु । माथि ज्येठानी-देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ ।"
चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन्, के लाग्या छ र !
"के ? के ? अहो ! छुँदैमा हातको छाप लाग्छ त !"
"क्या हो । क्या हो ।"
"छिः" उनले भनिन्, "कसरी माथि जाने ! थाहा पाउँदैनन् ?" "के आम्मै… के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !"
"भो बा ! म त फेरि हजूरकहाँ फर्केर नआउने बा ! डर लाग्यो !"
चम्पा निस्किन्…
त्यस दिन माथि घरमा ज्येठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बूढीले बताइसकेकी थिइन् ।
"तरुणाहरूको आर्कै रङ्ग, आर्कै रोशन ।" चुनुले खिसी गरिन् !
"म भा भे त तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् ।
"यसो कोठामा बराबर जाने गर्नू, पाउ दाब्नू । कस्ती लाटी !"
चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्साकोठाबाट तल ओर्लिन् । "घर भन्ने कस्तो बिकम्मा जेल हुन्छ । अर्काको मानो खानु, त्यो पनि काम गरिन भनेर सासू ज्येठानी, बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने– बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने । वचनको कोर्रा खानु उस्तै । खिसिटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन्, बुहारीहरू मस्यौटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने, डुँडो भयो भने, अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही । वसुन्धरीले पाउडर ला जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको दालभात गुदगुद, कूचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी, ताप्केसिवाय साथीको नाममा बन्द ।