Jump to content

Page:Champa.pdf/34

From Nepali Proofreaders
This page has been proofread

"कति राम्रो हलुवावेद… !"

ढोका कर्के थियो । आमाचाहिँनी भर्‍याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवना सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे ।

"ह्या ।… फटाहा !" चम्पाले गाली गरिन्, "कस्तो मनजोगी, उस् ! उस् स्स स्स !"

आधा कपाल फुलेकी रमादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोका उघारेर खडा भइन् ।

"बाबू ! कस्तो छ तँलाई आजकल ?"

"बेसै, आमा ! बिलकुल पहलमान ।"

"त्यस्तो भएर मात्र हुन्न, एक-दुई वर्ष हेर्नुपर्छ रे । फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ बाबू, तैँले । धोखामा पर्लास् । अब यो चम्पेलाई कोठा बन्द– आजदेखि । हरहमेसा कोठामा पसिरहन हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि ! मार्लिस् तेरो लोग्नेलाई, थाहा छ ?"

"कस्तो साइत पर्‍या !"

"चम्पू ! ल आइज अचार पार्नु छ ।"

"हवस् !"

चम्पाको गाला वसन्तपुर भयो ।

उनको जीवनको प्रथम पौरुष स्पर्श किसलयकपोलमा पाएर उनलाई अनौठा, असजिलो लागेको थियो । उनले फिल्मको अशोककुमार नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको एकलासी अधरमिलन या उरमिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । तर उनको आत्माले "कस्तो कुसमयमा अर्कालाई छुन आ होला ! मैले बिरालो आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?"

चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । मनमन उनले सासूको नाम दिएको थियो– घोरमुखा ।

"बस न !"