जस्तो !"
"कीचक भन्या बुझिनौ ? बाँस । कृष्णजीको मुरलीजस्तो सम्झ न । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाकी सुवासिनीको नाम बोक्सी, विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रङ्ग आयो ?"
"के नाम राख्या होलान् छिः ?… नेप्टी रे, चेप्टी रे, आलु रे,
ग्वाङ्रे रे, डेब्री रे, ड्यौढी रे,… नेपालमा सुवासिनी मान्छेलाई
चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देशी मधिसे नै हो कि अङ्ग्रेज ।"
"जी हाँ ! त्यतिविधि रिसाएकी ? हार भनूँ त आजदेखि ?"
"नाइँ ।"
"के विघ्न बढेकी तिमी । म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यौ ।"
"के गरेर घट्ने होला खै ?"
"कोलमा हाल्नुपर्यो… हुन्न ?" दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।
"मलाई सुवासिनी निषेध छ, के गर्ने ?… चम्पा !"
"केही पनि नगर्ने ।…"
"अङ्ग्रेजी युवकयुवति अभ्यर्थना गर्छन् । जीवनको वासन्ती समयमा मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन । …के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छ्यौ !"
"पर्दैन ब्यारे । म त राम्री छैनँ ।"
"पत्याउँछ दुनियाँ ? वाह… भोटेनी पालिस लाए मात्र नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्या जस्तो ! फटाही !"
"उस्… कति राम्रा चिज देखिसक्या आँखाले ।"
"म । एडस्डेमोना !… तिमीले ता बितायौ बा ।… म ? मनजोगी । आजकाल पो जपमाला छोडेँ ।"
"माफ पाऊँ न ! हाम्ले के भन्या छ र त्यस्तो नराम्रो !"
"ए बिजुली ! म त तिम्रो नाम बिजुली राख्छु आजदेखि, हुन्छ ?"
"हवस्… इच्छा…"