यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्तथिन् रिसले । पाखुरा जर्किन्थे ।
तब सासूले मुख फोरिन् । "ए, क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? … अवस्था हेरेर पो चल्नुपर्छ… कान्छो टोखामा पुग्या छ । तँ कस्बीसमान ठाँटिएर यसरी बस्ने ? कतिको फा, कतिको लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्या जस्तो छ ए !"
चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन् ।
"कँठेनीहरूले सभ्य शृङ्गार देख्या भे पो त कहिल्यै !"
सासू उफ्रिन्, "जान पाउन्नस् बाहिर … बस् ! कल्लाई… कँठेनी भन्या ए शहरिया ?"
"छन् नि कोही-कोही यहाँ ।" पहिलो नजर पोखर्यालपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।
"त्यसरी आफूभन्दा ज्येठा मान्नेलाई बोल्न हुन्छ ? चुप लाग् । कसूर तेरै हो ।"
"लुगा लगाउनु पनि अपराध रहेछ अब !"
"समयले पो हुन्छ सबै कुरा ।"
"आफ्नो समयमा को कम छन् र ह्याँ ?"
"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस्, अलि ओठ सेला ।
कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"
"साग नकेला छैन । कूचो नबढार्या छैन । बिछ्यौना तह नला छैन ।"
"अँ !… भर्याङ तलमाथि पनि नगर्या छैन भन्न ।"
चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।
"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख्, यसको मेख मार्नुपर्या छ एक दिन ।"