चम्पालाई ठाँट, सिँगार खूब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।
"आँखीभौँ सिसाकलमले लेख्या जस्तो हुन्छ कसैको ता" सासूले टिपिन् ।"
"छुसछुस कुरा नलाई चित्त बुझ्दैन रे ।" जेठी बुहारीले टीका थपिन् ।
माहिलीले भनिन्, "आँखीभौँ नटिप्ने ता को होला र आजकल ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर ! झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । रातिराति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोशाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी, फिल्मका गीत हरहमेशा गाइरहनुपर्दछ … नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।"
यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मतानमा पलेँटापछाडि कान थापिन् ।
"चौपट्ट ढाँचा है नेपालेका छोरीका त !" पोखर्यालपुत्रीले टिप्पणी गरिन् ।
माहिली बुहारीले भनिन्, "जुन गोरुको सिङै छैन उसको नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुर्मुरिएर उभिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।
"ज्यादा यत्ताउलो भा’ बेस होइन मान्छेले !" माहिली चुनुले तेल थपिन्, "कृष्णको तस्वीर लिएर छाती लगाएर, म्वाई खाएर उधुम छ ।" सासूले एकैछिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्, "कान्छाबाबूको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन । तर…"