Jump to content

Page:Champa.pdf/24

From Nepali Proofreaders
This page has been proofread

रामकान्त पोशाक उतारेर भान्साघरतर्फ रवाना भएका थिए, दुलहीले आफ्नो दुलाहाको शारीरिक सौन्दर्यको भेद पत्ता लगाइन् । "छाती" उनले विचार गरिन्, "डमरुको छालाजस्तो सुक्या रहेछ । परेवा छाती रे त्यस्तो बाङ्गेकाे हाड उठेको… हाम्रो बुबाले भन्नुहुन्थ्यो । आँगभरि छिः के विधि डन्डीफोर होला… सब पाक्या छ, कस्तो फोहोरी मान्छे होला छिः……. गालामा के त्यति लामो खुकुरीले काट्या जस्तो अथवा भालुले चिथोर्‍या जस्तो !… च्यान्ट घोडा भनेर जस्तो गिज्याएको हो !… नामै च्यान्टी भइसक्यो आर्का ! कति सानो मान्छे होला ? चिमिरे ! भँगेराजस्तो… काखी गन्हाएर वाक्क आइरहेछ अझ ।" दुलहीले बान्ता गरेकी थिइन् त्यस बिहान । दुलहादुलहीलाई एकै ओछ्यानमा त्यस रात सुताइदिएका नन्द, आमाजूले । रातभरि दुलहीलाई निद्रा लागेन । शरीरको गन्ध कुनै मान्छेको, बाफै तातो नै कस्तो-कस्तो पेट उमठ्लाजस्तो… दुलहीलाई घनघोर घीन लाग्यो ।

जप, मन्त्र, पवित्र बन्धन, लगनगाँठो वैदिक भए पनि हृदय वैदिक हुनुपर्छ भन्ने ब्राह्माण, गुरुज्यू, पुरोहितको भूल थियो– सफेद भूल !

चम्पा चाहन्थिन् केही आर्कै पर्न गयो केही आर्कै । स्वीकारले कसैको व्यक्तित्व बन्दछ, कसैको बाँङ्गिन्छ । चम्पाको सपना चकनाचूर भयो । कहाँ सिनेमा स्टार हुने भावना, कहाँ यो भङेरेदेव ! बालकै भए पनि राम्रा मीठा सपना बराबर उनलाई आउँथे । उनले आफ्नो जेलजीवनको पहिलो अनुहार देखिन् । उनलाई घृणा लाग्यो पहिलो बार पाउको पानी पिउँदा, दोस्रोपालि बान्त भयो । तब दुलान फर्काउनु सोर्‍ह दिनको भेटघाट । सासू अहिलेसम्म बेसै थिइन् । भोलि-पर्सि ह्वाङ्ग्राङ्ग खाइदिने पो हो कि ।… जेठी ज्येठानी कत्री ढोइ ! के विघ्न धम्मरधुस… शुद्ध कँठेनी… कस्ती मापाकी । कस्ती वालँघी ए ! तर माहिली ज्येठानी कस्ती सुकुटी फेरि ! बिहा गरेको पन्ध्र दिन भा छैन माइतमा कुरा गरिसकेकी …… ए ! आँखा डेढो रहेछ रे आकाश-पाताल देउरानी रे … मासुमा नुन चर्को कलबिख रे …, ज्येठानीलाई तपाईं भनिन रे ! कस्तो ठाडो बोली रे … हजूर भन्न जान्या रहेनछ रे… घर त कुरौटे, विघ्न