च्यान्टी । पहेँली यति छेपाराले चुसेजस्ती होइन । मसालाको बोटको जङ्घा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति टेडो रहेछ । नाक विलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्यदृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो तर मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्याङको उखान पर्यो भने । रत्यौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँ भने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा ! मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन् । मलको मूलाजस्तो के गर्नु ! … चीनीयाँचम्पा खिल्दो मुसमुसे अच्छा ! बेस रहिछन् तर विचारणीय ।"
यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाहरू (अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्मप्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामर्थ्यउपर ज्यादा जोड दिँदैनन् आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चश्मा, कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व भनेर पालन गर्दछन् ।
यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त, तर उनले चम्पालाई आफूयोग्य हुनुभन्दा कति मात्र तल-माथि परेकी होलिन् भनेर ग्राह्यताको समस्या हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।
सुवासिनी मान्छेका जोडजिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्कसुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहाबाजे