Jump to content

Page:Champa.pdf/25

From Nepali Proofreaders
This page has been proofread

कुरौटे रहेछ बा… लोग्नेले पनि के नाउँ राख्या होला त्यस्तो कीचक रे ! कीचक ता कोही सुवासिनीको नाउँ नराखोस् ए दुनियाँमा ! म कीचकजस्ती छु त ?

चम्पाले पुरोहितबाजेसँग सोधिन् माइतमा "होइन पुरेतबाजे ! कीचक भन्या के हँ ?"

पुरीहितबाजेले सम्झाएका थिए कीचक भन्या एउटा भीमसेनले घन्ट्याएको कामी, एक हावामा आफैँ बज्ने बाँस, तर कीचक कति नराम्रो नाम । के नाम राख्यो होला । … म अग्ली छु भनेर बाँसजस्तो भन्या होला अब ।

"ज्यादा च्यान्टा घोडाजस्तो भए मन पर्दी हुँला !"

यसरी १२ बाट १२ वर्षमा प्रवेश गर्दी चम्पा दुलहीको हृदयमा त्यस व्यक्तित्वदेखि विरोधका लहरीहरू उछालिन लागे जुन व्यक्तित्वले उनको छनाइको क्षेत्रबाट बाहिर रहेर उनलाई गाँजेको थियो । अति चुरोट, तमाखु खानुपर्ने, जुँघाको कथा हाल्नुजस्तो … कति नराम्रो कैलो भुवा जुँघाको नाममा … असल-असल मगरका नास्ति जुँघा न दारी ।

अलि मगर छाँटको… थेप्चो नाक पनि … तलतिर फेरि पुट्ट पर्‍या … मेरो हातले नाप्यो भने पनि तीन हात पुग्दैनन् जरुर । ठाँट पार्नुपर्‍या के विघ्न नि ! लुगा छोडायो कि भँगेरा भुत्ल्याएजस्तो इत्यादि ।

माइतमा पछि बज्यै अलि चुकचुकाइन् । "चम्पू !" उनले गाला मुसारिन् ।

"अलिकति तिमी सुहाउँदो भएन हकि बा ! … अब तिम्रो भाग्य यस्तै रहेछ । धन, पैसा, इज्जत, मान, सन्तान हो भाग्य भनेको ।"

चम्पाको हृदयमा आफ्नो स्वामीतर्फको न्यूनताको भाव समर्थित भयो । उनलाई बराबर गाली गरेको, हियाएको वचनले रिस उठ्दथ्यो । तर उनको व्यक्तित्वमा यौनभावका चक्रहरू स्पष्टतासँग काम गर्न लागिसकेका थिएनन् ।

दुलहादुलहीलाई आमाबाबुले अलग राखे यस निमित्त कि रामकान्तको पढाइ बाँकी थियो तथा दुलहीको उमेर पुगेको थिएन ।