तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बुढाथोकीको वचनले हुन्छ ?" रामकान्त जागे ।
"अझ अप्सराजस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आफैं खोजेर ले ।"
यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सराजस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेस … तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! … अस्तु … !
रामकान्तले कन्या हेर्न जाने निश्चय गरे… साथीको मोटरसाइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटरसाइकिल राखेर सिगरेट किने । हेर्ने भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट सानासाना ठिटीहरू खेल्न लागेका देखे ।
बगैँचा रमणीय थियो… सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रूखहरू थिए । जाईका झाङहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोर्हश्राद्धमै दशैँको पूर्वस्मरण गरिरहेका थिए ।
एक ठिटी भन्न लागेकी थिई, "दशैँमा ता चम्पानानीको बिहा बाबै !"
आर्कीले उत्तर दिई, "अँ ? हो ! … दशैँमा बिहे गर्छ कोही ?"
तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै नखेल्ने ! बुबालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! कच्चरीहरूहो !"
रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनी- तरफ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।
रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने– "चिनियाँ कदकी भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालु छन् । अग्ली गोरीमाको भेनेशियन सुन्दरी ! … यो ककेसियन टाइपकी । म चाहान्छु आफूजस्ती