कुल रे ?… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन्, काम गर्दैनन्, गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जुवा खेल्या हो र ?"
यस्ता तर्क-वितर्कमा रामकान्तबाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कम कदर देखाउँछन् ।
उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अङ्ग्रेजहरू कति बेस ! प्रेमको बाटो त रोक्तैनन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । "अरूको आँखा, हाम्रो जिन्दगी, वाह !… हामी पुतली होइनौँ क्यार ? अथवा चल्लाचल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"
रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुन्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीव्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अङ्ग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनलाई अब कस्ती होली भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।
"कन्या अत्यन्त उम्दा छन् बाबू ! लाखमा रोजा ।" आमा रमादेवीले भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैँचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पिताको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।"
"होइन" आमाले सम्झाइन्, सबले हेरिसकेको, बाबू ! तिमीहरू मात्र आँखा भा छौ, अब दुनियाँमा ? अरूका आँखा छैनन् क्यार ?"
"अँगार, अँगार अरूका आँखा काँच अरूका नजर, आमा !