घुँघरदार शिर हल्लाइन्, "भोक लागेपछि चोर्दैन त ? विरालोले पनि चोर्छ । सबले पढ्न, खान नपाएपछि बदमाश किन हुँदैनन् त ? … … हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ, बाबै !"
चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहिराइ समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर बाठी … … पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले !" तर कडा मुख लगाएर उनले थपे ।
"हा गवन्धि !… राजाको कुरा केटाकेटीले गर्नु हुन्छ ?" कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ?
"अँ ? … " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ? बेस्करी हुन्छ हजूरबुबा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।"
बूढाले झिँजिएर "खेल्न जाऊ" भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । "छुकछुक छैयाँ, छुकछुक छैयाँ, चकचक चुकचुक… ।"
ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरआफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।
"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल !"
उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोकाबाहिर कठबारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।
"यी ढोकाहरु… साना तला नगरी नहुने नेपालमा… के गर्नु…… ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो ! यी यस्तो होचो ल … ।"