Jump to content

Page:Champa.pdf/9

From Nepali Proofreaders
This page has been proofread

"राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषिजस्तो त हो नि ! दारी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।"

"यो मान्छे हुनिकी छैन" सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, "त्यसो भए चम्पालाई बूढो पोइ खोजीदिने भएँ, हुन्छ कि हुन्न ?"

"छिः के कुरा गरिबक्स्या होला ? अँ… हामी बिहे गर्छौँ त्यस्तरी क्या ?"

"छोड्लिस् अब बिहे गर्न ? वाँ माग्न आइसके… अर्काले ।"

"उँ-- हो ?"

बहत्तर वर्षका बूढा कानका तीखा थिए, आँखाका पनि छिटा । पुराना बूढाहरुलाई सत्ययुगको दूध, दही, घिउको असर रहेकै हुन्छ । विज्ञानको युगको जीणर्शीणर्ता कम हुन्छ ।

"अझ उँ, हो भनेकी हेरन ?… सत्ते ! चम्पा ! मैले ठट्टा गर्‍या भन्ठानिस् ! माग्न आ छन् तँलाई अधिकारीको घरबाट … ।"

"त्यस्तो मोरो अधिकारी ! बिहे नै गर्दैनौँ ।"

बूढाले भने, "हा उल्लू ! अर्कालाई झ्वाट्ट त्यसरी मोरो भन्न हुन्छ ? पाप लान्छ ।" पाप नामको एउटा विचित्र, आधा बुझिएको, अस्पष्ट, नगर्न हुने तर आकलझुकलमा या खराब स्वभावले गरिने कुनै कल्सेँदो वस्तुले बाहुनकी छोरी अलि झस्किन् । ब्राह्मणकन्यामा ज्यादै धार्मिक मोलतोलको असर पर्दछ… उनीहरू कट्टर हुन्छन्… कुनै कुनै, जसको व्यक्तित्व ज्यादै परिस्थिति या धर्मले च्याँट्ठिन्छ र हाँकिन्छ, बलवा गर्न थाल्दछन् । चम्पाको निर्दोष शैशवको रङ्गीलो सुगन्धी भावनामा परम्परातर्फ विरोधको विचार उठिसकेको थिएन ।

चम्पाले भनिन्, "हजूरबुबा ! पाप भन्या के हँ ?", उनका आँखा बाटुला बोध-प्रयासी थिए ।

बूढाले उत्तर दिए, "पाप भन्या अर्कालाई दुःख दिनु ।"

चम्पाले जवाफ दिइन्, "उसो भए राजाले किन चोर बदमाशलाई दुःख दिया त ? पाप लागेन हजूरबुबा ?"

बूढाले चोरको निन्दनीयता तथा बदमाशहरुको दण्डनीयताउपर सानो घरेलु व्याख्यान छाँटे । चम्पाको चित्त राम्ररी बुझेन । उनले