बूढाको आवाज सुनेर, उनले निधार छामेको देखेर सुब्बेनीवज्यै आफ्नो अढाईहाते गद्दीको मुनितिरको सेतो लम्पटबाट उठिन् ।
"के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?"
"केही भएन… अलिकति ठक्कर मात्रै लाग्यो ।"
"दुख्यो कि सार्है ?"
"होइन … केही भएन… ।"
सुब्बाबाजेको आँखा कोठावरिपरि घुमे, सुब्बेनीबज्यैको कोठा सव सिँगारदार, रङ्गिलो थियो । वालपेपरले सजेको… पालिसदार दराजहरूले सुसज्जित… दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरू ठाँटेको, कार्पेट नयाँ, सत्रन्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरूको खात, आधा दर्जन चियाका प्यालाहरू … थिए । अढाइहाते गद्दीउपर साटिनदार झूलको बाबरलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो… दुइटा चकटीमा बसेर बुलु र चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन कृष्णाष्टमी छ ।
सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छ्यौ, ए तिमी त ! अझ उमेर पनि त ताजै छ नि !"
"उँ ! कसरी मर्जी भा होला … अचम्म ! अर्काको केश काँस भैसक्यो वाँ ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा भन्थेँ ! तर छोराहरू छन् नि हजूरका … टेबिल भएन रे, फूलदान भएन रे … ज्येठाले कलकत्ताबाट ल्याइदिएका प्लेट र प्यालाहरू सब । म बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।"
बूढा तस्वीर जाँच्दै हिँडे… कृष्ण र विष्णु… जरीदार, मालादार, सिँगारदार… तस्वीरमुनि साना तख्ता, तिनउपर एक-एक ढलौटे पाला । तेल टम्म । बूढाले विचार गरे – "बूढीको कोठामा रातभर कृष्णजी चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा होलान् ! स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी