हे सीते कसरी म देखि पर भै बस्छ्यौ तिमी छौ कहाँ ।
प्राणै थाम्न कठिन् भयो म विनु ता आपत् भया हुन् तहाँ ॥
तिम्रो भेट न पाउँदा म कन ता ई चन्द्र सूर्यै बन्या ।
तिम्रो ता गरुँ क्या बखान् तिमि त झन् छ्यौ दुष्टका पास् भन्या ॥९०॥
सुग्रिव् आज कृतघ्न झैं हुन गया आयो शरत्काल् पनी ।
सुर्तै छैन सिताजिलाइ अझ तक् खोज् गर्नु पर्ला भनी ॥
मार्छू सुग्रिव दुष्टलाइ पनि फेर् बाली सरीको गरी ।
लक्ष्मण्ले प्रभुका वचन् सुनि गर्या बिन्ती अगाडी सरी ॥९१॥
हे नाथ् आज मलाइ बक्सनु हवस् हूकुम् म मार्छू गई ।
लक्ष्मण्का इ वचन् सुनेर रघुनाथ् अत्यन्त खूसी भई ॥
भन्छन् भाइ न मार आज बहुतै हप्काउ जाऊ तहाँ ।
मारी हाल्न त योग्य छैन तर खुप् चेताइ आऊ यहाँ ॥९२॥
हूकुम् यो प्रभुको सुनी कन तहाँ लक्ष्मण्जि जल्दी गया ।
सीतानाथ् नरको लिला गरि विलाप् खुप् गर्न लाग्दा भया ॥
किष्किन्धापुरि पौंचि लक्ष्मणजिले टङ्कार् धनूको गर्या ।
पत्थर् वृक्ष उठाइ वानरहरू कोही अगाडी पर्या ॥९३॥
सब् वानर् कन नष्ट गर्दछु भनी लक्ष्मण्जिले बाण् धर्या ।
अङ्गद् आइ उठाइ वानरहरू जल्दी चरण्मा पर्या ॥
अङ्गद् सीत बहुत् प्रसन्न भइ झट् ताहाँ अह्राया पनी ।
जाऊ देउ खबर् अगाडि तिमिले लक्ष्मण्जि आया भनी ॥९४॥
अङ्गद् गै कन त्यो खबर् जब दिया सुग्रीवलाई तहाँ ।
जल्दी सुग्रिवले हुकुम् पनि दिया लौ जाउ ल्याऊ यहाँ ॥
अङ्गद्लाइ सँगै लियेर हनुमान् चाँडै चरण्मा परी ।
लक्ष्मण्लाइ बुझाइ ल्याउ तिमिले सब् रीस शान्ती गरी ॥९५॥
Page:Bhanubhaktako ramayan.pdf/93
Appearance
This page has not been proofread
