Jump to content

Page:Bhanubhaktako ramayan.pdf/94

From Nepali Proofreaders
This page has not been proofread

यस्तो सुग्रिवो वचन् सुनि तहाँ सोही बमोजिम् गरी ।
पाऊमा परि बाहुमा धरि लिया ल्याया बहुत् खुस् गरी ॥
हूकुम् सुग्रिवको सुनी कन तहाँ ताराजि चाँडै गइन् ।
लक्ष्मण्लाइ बुझाइ खुस् गरुँ भनी खुप् बिन्ति गर्दी भइन् ॥९६॥

लक्ष्मण् सुग्रिवको भयो जब त भेट् सुग्रिव् चरण्मा पर्या ।
लक्ष्मण्ले पनि ताहिं सुग्रिवजिको सातो कुराले हर्या ॥
बाली झैं हुन मन् छ की भनि जसै लक्ष्मण्जिले बात् गर्या ।
लक्ष्मण्लाइ बुझाउना कन तहाँ जल्दी हनूमान् सर्या ॥९७॥

लक्ष्मण्जी पनि कामले बुझि गया बात्चित् खुसीका गरी ।
फिर्नाको मतलब् गर्या प्रभु थिया जाहाँ जगन्नाथ् हरी ॥
लक्ष्मण्का सँग लागि सैन्य पनि ली सुग्रीव खुस् भै गया ।
जाहाँ श्रीरघुनाथ् थिया तहिं सबै दाखिल् क्षणैमा भया ॥९८॥

देख्या श्रीरघुनाथलाइ र परै रथ् देखि उत्रेर फेर् ।
लक्ष्मण् सुग्रिव पाउमा परि गया लागेन एक् छीन बेर् ॥
राम्ले सुग्रिवलाइ मित्र भनि खुप् आलिङ्गनादी गरी ।
सोधपुछ् गर्नु भयो बहुत् खुसि हुँदै आफैं अगाडी सरी ॥९९॥

लाग्या सुग्रिव बिन्ति गर्न रघुनाथ् मैले त सेना पनी ।
ल्यायाँ विर्हरु छन् अनेक् तरहका छन् इन्द्र तुल्यै पनी ॥
ई सब् ख्वामितका निमित्त खुसि भै प्राणै दिन्या छन् जसो ।
हूकुम् हुन्छ हवस् यहाँ हजुरको गर्छन् ति ऐल्हे तसो ॥१००॥

खूसी भै रघुनाथको हुकुम भो हर्षाश्रुधारा परी ।
हे सुग्रिव सखे इ वानरहरू जाउन् दिशा दस् भरी ॥
जाहाँ छन् ति सिता तहीं पुगि खबर् ल्याउन् भनी रामको ।
हूकुम् पाइ पठाइ वानरहरू उर्दी दिया कामको ॥१०१॥