वर्षाकाल् बिति सक्छ यो जब तसै सीताजिको खोज् गर्या ।
येती मर्जि दिया र सुग्रिव बहुत् आनन्दसागर् पर्या ॥
लक्ष्मण्जी पनि रामका हुकुमले सुग्रीवका साथ् गया ।
सुग्रिव् गादि विषे बस्या पछि फिरी दाखिल् प्रभू थ्यैं भया ॥७८॥
राम्ले ताहिं थियो प्रवर्षण गिरी तेस्का शिखर्मा चढी ।
देख्या सुन्दर एक् गुफा स्फटिकको ताहीं गराया मढी ॥
फल्फूल ताहिं खचित् थियो नजिकमै थीयो तलाऊ पनी ।
देख्या मन् खुसि भो तहाँ प्रभुजिको बस्न्यै जगा हो भनी ॥७९॥
वर्षाकाल तलक् रह्या प्रभु तहाँ पर्थ्यो बखत्मा झरी ।
जन्तू पुष्ट थिया सबै ति वनका खायेर घाँस् पेट् भरी ॥
बस्थ्या श्रीरघुनाथका वरिपरी खुप् ध्यान् प्रभूमा धरी ।
ध्यान् जन्तूहरुको विचार् गरि तहाँ खूसी रहन्थ्या हरी ॥८०॥
लक्ष्मण्ले तहिं बिन्ति एक् दिन गर्या हे नाथ् पुजाको विधान् ।
पाऊँ सुन्न हुकुम् हवस् खुसि भई कुन् हो करूणानिधान् ॥
ब्रह्मा व्यास् अरु नारदादिहरु सब् भन्छन् पुजाले सरी ।
अर्को तर्न उपाय छैन जनको खुस् छन् पुजैमा हरी ॥८१॥
यस्तो सूनि गयो र मन् चरणमा सोध्याँ पुजाको विधान् ।
साँचो तत्त्व बताउन्या हजुर झैं को छन् दयाका निधान् ।
यस्ता लक्ष्मणका वचन् सुनि तहाँ पूजा विधी हो जती ।
सब् संक्षेप् रितले कह्या प्रभुजिले लक्ष्मण् भया खुस् अती ॥८२॥
वर्षाकाल् यहि रीतले तहिं बित्यो वार्ता कथाको गरी ।
सम्झ्या झट्ट सिताजिलाइ र विलाप् फेर् गर्न लाग्या हरी ॥
किष्किन्धापुरिमा यसै बिच महाँ मन्त्री हनूमानले ।
सुग्रिव् सीत सिताजि खोज् गर भनी बिन्ती गर्या ज्ञानले ॥८३॥
Page:Bhanubhaktako ramayan.pdf/91
Appearance
This page has not been proofread
