Jump to content

Page:Bhanubhaktako ramayan.pdf/90

From Nepali Proofreaders
This page has not been proofread

उस् जन्ममा अधिक भक्ति गर्यौ र ऐल्हे ।
दर्शन् दियाँ नतर झट्ट म मिल्छु कैल्हे ॥
मेरो स्वरुप् र इ वचन् अब सम्झी लीया ।
छुट्नन् ति दुःख तिमिलाइ जती त थीया ॥७२॥

लेखै हवैन अब कर्म पनी गरीन्या ।
रस्ता कह्याँ भवसमुद्र सहज् तरीन्या ॥
मेरो स्वरुप् र इ वचन् जति सम्झि लिन्छन् ।
सब् कर्मपाश् ति सहजै सित काटि दिन्छन् ॥७३॥

यस्ता वचन् प्रभुजिका सुनि खूसि मन्ले ।
छोडिन् जती छ अभिमान् पनि ताहिं तिन्ले ॥
सुग्रीवको पनि गयो अभिमान ताहाँ ।
राम्को कृपा हुन गया पछि टिक्छ काहाँ ॥७४॥

हूकुम् भयो प्रभुजिको तहिं मित्रलाई ।
हे मित्र सुग्रिव जराउ इ बालिलाई ॥
क्रीया गरी कन शरिर् गर शुद्ध ऐल्हे ।
सब् काम छोडि कन यै गर आज पैल्हे ॥७५॥

हूकुम् भयो र तब बालि लगी जलाया ।
क्रीया गरी सकि ति सुग्रिव ताहिं आया ॥
अर्पण् गरी सकल राज् प्रभुका चरण्मा ।
सेवक् बनी कन म बस्छु भनी शरण्मा ॥७६॥

सुग्रिव्लाइ हुकुम् भयो प्रभुजिको जो हौ तिमी सो म हूँ ।
जाऊ आज र गादिमा बस म ता याहीं वनैमा रहूँ ॥
गाऊँमा घरमा बस्वैन म भनी मेरो प्रतिज्ञा छ यो ।
जानन् लक्ष्मण ता सँगै घर पनी भाई गया भै गयो ॥७७॥