Jump to content

Page:Bhanubhaktako ramayan.pdf/84

From Nepali Proofreaders
This page has not been proofread

चिह्नू देह विषे धरेर अहिले जाऊ र हाँक् देउ फेर् ।
बालीलाइ म मारि दिन्छु सहजै लाग्वैन ऐल्हे त बेर् ॥
यस्ता बात् गरि खुप् शपथ् पनि गरी सुग्रीवको मन् भरी ।
आज्ञा लक्ष्मणलाइ बक्सनु भयो फुल् ल्याउ माला धरी ॥३६॥

सो माला पहिराइ भाइ तिमिले जल्दी पठाऊ तहाँ ।
हाँक् दीउन् अब बालिलाइ अहिले मार्छू म छोड्छू कहाँ ॥
लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ माला लगाई दिया ।
त्यो माला पहिरेर सुग्रिव गया बाली जहाँ विर् थिया ॥३७॥

बालीलाइ सुनाइ हाँक् बहुत दी सुग्रिव् बस्याथ्या जसै ।
बालीले पनि शब्द सुग्रिवजिको सून्या र ऊठ्या तसै ॥
आश्चर्यै मनमा भयो अघि भन्या ऊठ्यो पछी रिस् पनी ।
मुक्का ख्वाइ लघारियो त पनि फेर् फर्क्यो भगूवा बनी ॥३८॥

बालीले पनि फेर् कछाड् कसि तयार् भै जान लाग्या जसै ।
ताराले त न जाउ यस् बखतमा भन्दै समातिन् तसै ॥
कोही वीर् बलवान् सहाय मिलि पो सुग्रीव आया यहाँ ।
साहायै न भया त येहि घडिमा सुग्रीव फिर्थ्या कहाँ ॥३९॥

ताराका इ वचन् सुनेर बलवान् वीर् बालि बोल्छन् तहाँ ।
हे प्यारी न डराउ को छ म सरी विर् आज दोस्रो यहाँ ॥
सुग्रिव्लाइ सहज् सहाय सहितै मारेर फिन्र्या म छू ।
विर् हूँ हाँक दिंदा कसो गरि बसूँ शङ्का न मान्या कछू ॥४०॥

बालीका इ वचन् सुनी कन तहाँ ताराजिले फेर् पनी ।
भन्छिन् नाथ् कछु सूनि बक्सनु हवस् क्या भन्दछे यो भनी ॥
बिन्ती गर्छु म हित् कुरो हजुरमा साक्षात् अयोध्यापती ।
श्री राम्चन्द्र सहाय छन् अब तहाँ चल्दैन जोर् एक् रती ॥४१॥