Jump to content

Page:Bhanubhaktako ramayan.pdf/83

From Nepali Proofreaders
This page has not been proofread

हे सुग्रीव सखे मलाइ दुनियाँ भन्नन् मित्यारी गरी ।
कुन् चिज् सुग्रिवलाइ दी कन गया आपत्ति तिन्का हरी ॥
यो लोक्को अपवाद् म मेट्छु अब ता बाली छ ऐल्हे जहाँ ।
ताहाँ गै कन हाँक देउ तिमिले त्यो बालि मार्छू यहाँ ॥३०॥

ऐल्हे राज्य गराउँछू भनि तहाँ राम्को हुकुम् भो जसै ।
सुग्रिव् खूसि भयेर बालि कन खुप् हाँक्या वचन्ले तसै ॥
किष्किन्धापुरिका नजीक वनमा आयेर हाँक् खुप् गरी ।
सुग्रिव् ता जब ता चल्या बुझि खबर् बाली छुट्या घरी ॥३१॥

बाली सुग्रीवको लडाञि पनि भो सुग्रीव एक् क्षण् लड्या ।
सक्थ्या सुग्रिवले कहाँ सहजमा बाली विरैले धर्या ॥
बाण् छाडी कन बालिलाइ अब ता मार्नन् प्रभूले भनी ।
एक् क्षण् ता यहि आसले टिकि गया घुस्सा दिंदामा पनी ॥३२॥

बाली सुग्रिवको दुरुस्त अनुहार् एक् देखि राम्ले जसै ।
बाण् थाम्या टिकि सक्नु मुस्किल भई सुग्रीव भाग्या तसै ॥
पौंच्या श्रीरघुनाथका हजुरमा काम्दै र छाद्दै रगत् ।
बल् तोडी कन बालिले हरि लिया एक् देह पौंच्या फगत् ॥३३॥

सुग्रीव्ले तहिं बिन्ति खुप् सित गर्या हे नाथ् मलाई यहाँ ।
मार्नैको यदि मन् छ पो पनि भन्या जोर् चल्छ मेरो कहाँ ॥
आफैंले यहिं मारि बक्सनु हवस् ख्वामित् हजूर्ले पनी ।
शत्रूलाइ लगाइ मार्न त उचित् हो क्या सखा हो भनी ॥३४॥

सुग्रीव्का इ वचन् सुनी गह भरी आँसू प्रभूले धर्या ।
सुग्रीवजी कन अङ्कमाल गरि खुप् खातिर् प्रभूले गर्या ॥
हे सुग्रीव सखे दुरुस्त अनुहार् एक् देखि शङ्का भयो ।
मर्नन् मित्र भनेर पो डर हुँदा बाँचेर बाली गयो ॥३५॥