Jump to content

Page:Bhanubhaktako ramayan.pdf/85

From Nepali Proofreaders
This page has not been proofread

सुग्रिव् सीत मित्यारि लाइ रघुनाथ्ज्यूले पिछामा लिया ।
बाली मारि म राज्य आज दिउँला भन्न्या वचन् यो दिया ॥
भन्न्या बात् अरुमा हुँदा वन महाँ सूनेर अङ्गद् यहाँ ।
आई सब् इ कुरा मलाइ अघि नै भन्थ्यो न जाऊ तहाँ ॥४२॥

सुग्रिव् सीत विरोध् न राख तिमीले जाऊ र ल्याऊ यहाँ ।
यो राज् सुग्रिवलाइ देउ अब ता जित् छैन तिम्रो तहाँ ॥
श्री राम्का दुइ पाउमा पर तिमी गर्नन् प्रभूले दया ।
साँचा हुन् इ कुरा बुझी लिनु हवस् भोग् गर्न इच्छा भया ॥४३॥

येती बिन्ति गरेर पाउ दुइमा पक्रेर रोइन् जसै ।
तारालाइ बुझाउना कन तहाँ फेर् बालि बोल्या तसै ॥
हे प्यारी न डराउ कत्ति रघुनाथ् साक्षात् रमाका पती ।
नारायण् भनि चिन्दछू म पनि सो नाथ् हुन् जगत्का पति ॥४४॥

ताहाँ छन् रघुनाथ् भन्या चरणमा पन्र्याछु चाँडै तसै ।
सुग्रीवै छ फगत् भन्या सहजमा मान्र्याछु छोड्छू कसै ॥
सुग्रीव् कुन् बलियो छ पाजि भगुवा त्यो लड्न मन्सुब् लिन्या ।
तेस् पाजी कन डाकि आज कसरी यो राज्य मैले दिन्या ॥४५॥

तस्मात् शोक् न गरी बसी रहु तिमी जान्छू म ताहाँ भनी ।
लड्नैलाइ कछाड् कसी कन तयार् भै बालि दौड्या पनी ॥
बाली सुग्रिव दूइ भाइ रिसले फेर् लड्न लाग्या जसै ।
रुख्को आड गरी तहाँ प्रभुजिले एक् बाण छोड्या तसै ॥४६॥

बाण् बज्र्यो जब बालिका हृदयमा सर्वाङ्ग बाधा गरी ।
पृथ्वी कम्प गराइ झट् तहिं गिर्या बाली त मूर्छा परी ॥
मूर्छा दूइ घडी पर्या पछि अलिक् चैतन्य आयो जसै ।
देख्या श्री रघुनाथलाइ खुसि भै साम्ने बस्याका तसै ॥४७॥