अग्नी साक्षि धरेर सुग्रिवजिले राम् थ्यैं मित्यारी गरी ।
बाहाँ जोरि सखा भई नजिकमा सुग्रिव् बस्या तेस् घरी ॥
सुग्रिव्ले तहिं बिन्ति बात् पनि गर्या हे नाथ् फजीती सही ।
बालीका डरले बहुत् दिन बित्या एसै जगामा रही ॥१२॥
याहाँ बाली त आउँदैन छ सराप् मातङ्गजीको र यो ।
पायाँ बस्न नहीं भन्या म कन ता कस्ले बचाऊँदथ्यो ॥
बालीको बल बिन्ति गर्छु अहिले जस् देखि सब् डर्दछन् ।
कस्तै वीर हउन् लड्या पनि भन्या लड्न्या सबै मर्दछन् ॥१३॥
ठूलो विर् मयपुत्र राक्षस थियो मायावि ता नाम् थियो ।
बाली सीत लडाञि गर्न भनि त्यो आयो र हाँक् खुप् दियो ॥
बालीले पनि दौडि गै कन तहाँ हान्यो मुठीले जसै ।
बाधा पाइ डराइ भागि ऊ गयो लाग्यो पछाडी तसै ॥१४॥
बालीका पछि लागि मै पनि गयाँ राक्षस् गुफामा गयो ।
ढोकामा त मलाइ राखि रिसले फेर् भित्र जाँदो भयो ॥
मैन्हा दिन् बिति गै गयो त पनि त्यो फर्केन बाली जसै ।
साह्रै दिक् म थियाँ कसो गरुँ भनी आयो रगत् पो तसै ॥१५॥
लौ बाली त मरेछ हेरि रगतै आयो गुफा देखि ता ।
मैलाई पनि फर्कि मार्छ रिसले गूफा थुनी जाँ म ता ॥
यस्तो बुद्धि भयो र पत्थर ठुलो ल्यायाँ र गूफा थुन्याँ ।
फर्की आउन मन् गर्या पनि सहज् निस्की न सक्नू हुन्या ॥१६॥
यस्ता पाठ् सित खुप् थुन्याँ र म फिर्याँ बाली मर्या लौ भनी ।
विस्तार् सर्व सुनाउँदा म कन ता राजा बनाया पनी ॥
राजा भै कन राज्य भोग् पनि गर्याँ क्यै दिन् पछी बालि ता ।
राक्षस् मारि फिरेर दाखिल भयो रीसाइ मै माथि ता ॥१७॥
Page:Bhanubhaktako ramayan.pdf/80
Appearance
This page has not been proofread
