Jump to content

Page:Bhanubhaktako ramayan.pdf/81

From Nepali Proofreaders
This page has not been proofread

उस् दिन् देखि डराइ याहिं म रह्याँ मेरी त पत्नी पनी ।
बल्जफ्ती सित भोग गर्छ गरुँ क्या पुग्दैन जोर् तै पनी ॥
याहीं आउन सक् भये यहिं पनी आयेर मान्र्या थियो ।
पाप्को क्या डर मान्छ त्यो र बलले जस्ले बुहारी लियो ॥१८॥

साह्रै दुःखि भयेर सुग्रिवजिले बिन्ती गर्याको सुनी ।
सुग्रिव्का अब दुःख हर्दछु भनी अन्तःकरण्ले गुनी ॥
खातिर् श्री प्रभुले गर्या सुन सखे त्यो बालि मारी यहाँ ।
तिम्रो राज्य गराउँला अब उपर् जोर् चल्छ तेस्को कहाँ ॥१९॥

यस्तो सत्य वचन् सुन्या प्रभुजिको शङ्का पर्यो तै पनी ।
सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ बाली भनी ॥
बालीलाइ बहूत विर् बुझि तहाँ राम्का अगाडी सरी ।
बालीको अघिको पराक्रम कह्या बिल्कूल विस्तार् गरी ॥२०॥

एक् दिन् दुन्दुभि नाम राक्षस ठुलो आयो र हाँक् खुप् दियो ।
बालीले सहजै निमोठि कन सिर् छुट्ट्याइ हात्मा लियो ॥
सोही फ्याँकि दिंदा यहाँ गिरि गयो चार् कोस् जगामा जसै ।
छीटा पर्न गयो बहुत् रगतको ऋ़षी रिसाया तसै ॥२१॥

बालीलाइ सराप् दिया अब यहाँ आइस् भन्या तैं पनी ।
सिर् जुद्दा भइ पृथ्विमा गिरि गयास् जस्तै गिर्यो यो पनी ॥
यो मालुम् त मलाइ सब् अघि थियो सो जानि याहीं रह्याँ ।
उस्लाई पनि यो छ याद् तब म तेस् विर् देखि बाँच्तो भयाँ ॥२२॥

सोही सिर् अझ तक् छ पर्वत सरी यो फ्याँक्न सक्नू भया ।
बाली मार्न समर्थ ताहिं चिह्नुला मेरा त सेखी गया ॥
ई बात् सुग्रिवका सुनी झलक द्यूँ इन्लाइ भन्न्या भयो ।
फ्याँक्या सिर् तहिं पाउका अँगुलिले चालीस कोस् तक् गयो ॥२३॥