जस्सै मुक्त भई गइन् ति शबरी सब् बात् सुनी राम् पनी ।
जान्छू आज म ऋष्यमूक गिरिमा सुग्रीव भेट्छू भनी ॥
जान्थ्या कोस् भरिको तलाउ मिलिगो पम्पा भन्याको पनी ।
चीह्न्या श्री रघुनाथले शबरिले यै हो भन्याको भनी ॥१॥
माछा कच्छप चल्दछन् कमलको सब् गिर्छ केसर् तहाँ ।
केसर्ले जब छोपियो पनि भन्या देखिन्छ जल् पो कहाँ ॥
नीला लाल सफेद् कमल् पनि अनेक् रङ्का भयाका तहाँ ।
बोल्छन् हंस चकोर सारसहरू लाटाक्वस्यारा जहाँ ॥२॥
जस्तो निर्मल हुन्छ सन्तहरुको मन् सोहि माफीक जल् ।
निर्मल् देखि बहुत् प्रसन्न मन भो लाग्यो र साह्रै असल् ॥
थोडा जल् पनि पान् गरी सकल वन् हेर्थ्या जगन्नाथ् तहाँ ।
देख्या सुग्रिवले डरायर नजर् लाया प्रभू छन् जहाँ ॥३॥
बालीको छल हो भन्या बुझि तहाँ हात्ले इसारा दिया ।
ओरै कोहि रहेछ सज्जन भन्या हेरेर हाँसी लिया ॥
ब्राह्मण्को लडिका बनेर हनुमान् जाऊ ति को हुन् कहाँ ।
जान्छन् क्या मनमा छ सब् वरिपरी हेरेर डुल्छन् तहाँ ॥४॥
सुग्रिव्ले हनुमानलाइ जब यो हूकुम् दिया जा भनी ।
ब्राह्मण्का लडिका बनेर हनुमान् राम्का हजुर्मा पनी ॥
पौंची पाठ् सित बिन्ति पारि सब काम् सोध्या प्रभूको जसै ।
विस्तार् नाम र कामको प्रभुजिले खुस् भै बताया तसै ॥५॥
Page:Bhanubhaktako ramayan.pdf/78
Appearance
This page has not been proofread
श्रीकिष्किन्धाकाण्ड
