This page has not been proofread
सुग्रिव् सीत मित्यारि गर्नु सब काम् हून्या छ सीता पनी ।
मिल्निन् आज म देह खाग् गरि यहीं पोल्छू नजिक्मै भनी ॥
बिन्ती पारि चिता विषे पसि शरीर् यो जो छ सब् खाग् गरिन् ।
ठाकुर्को अति भक्तिले ति शबरी संसारसागर् तरिन् ॥१२०॥
क्या दुर्लभ् रघुनाथ् खुसी हुन गया जात्की अधम् भै पनी ।
श्रीराम्का अघि देह छाडि कन पार् पौंचिन् सहज् तै पनी ।।
ब्राह्मण् भै कन भक्ति गर्दछ भन्या उस्का त झन् क्या कुरा ।
जो कोही पनि भक्ति भो भनि भन्या योगी ति हुन्छन् पुरा ।।1 ॥१२१॥
हे लोक् हो रघुनाथका चरणको भक्ती छ मुक्ती दिन्या ।
यो जानी कन कामधेनु सरिका राम् हुन् मनैमा लिन्या ॥
क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा ।
तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा ॥१२२॥
इति श्रीअरण्यकाण्ड ।