हीतै कहन्छ भनि यो तिमि जानि लेऊ ।
आर्को कहन्छु म गुठिल् तिमि चित्त देऊ ॥
ई ता अनन्त अधिनाथ् परमेश्वरै हुन् ।
ब्रह्माजिले पनि भजिन्छ सदा पुरुष् जुन् ॥६०॥
नारद्जिका वचन सूनि म आज भन्छू ।
ख्वामित् म ता हित चिताइ सदा रहन्छू ॥
लौ मार रावण भनी वरदान माग्या ।
ब्रह्माजिले र उहि सुर् प्रभु गर्न लाग्या ॥६१॥
जाऊ घरै बसि रहू मति यो न लेऊ ।
ईश्वर् बुझेर उहि माफिक चित्त देऊ ॥
जो गर्दछन् प्रभु गरुन् छ लिला उनैको ।
लाग्दैन जोर् प्रभु विषे अरुका कुनैको ॥६२॥
मारीचले जब त बात् यति सब् बतायो ।
झन् बात् सुनी बुझि त खुप् सित चित्त लायो ॥
मारीचलाइ अनि रावण भन्छ हेरी ।
सीता म हर्छु मृग भै कन जाउ फेरी ॥६३॥
ईश्वर् त हुन् यदि भन्या ति अवश्य मार्छन् ।
सामान्य हुन् यदि भन्या ति अवश्य हार्छन् ॥
ईश्वर् भया पनि असल् छ अवश्य तर्छू ।
सामान्य हुन् त म सिता सँग भोग गर्छू ॥६४॥
जाऊ अवश्य म सिताजि हरेर लिन्छू ।
बोल्यौ यहाँ कछु भन्या त म काटि दिन्छू ॥
यस्तो हुकुम् गरि तहाँ जब बीच पार्यो ।
मारीचले पनि तसै जिय आस मार्यो ॥६५॥
Page:Bhanubhaktako ramayan.pdf/67
Appearance
This page has not been proofread
