Jump to content

Page:Bhanubhaktako ramayan.pdf/66

From Nepali Proofreaders
This page has not been proofread

यस्तो पर्यो म कन आज सहाय देऊ ।
सुन्दर् ठुलो मृगस्वरुप् तिमि आज लेऊ ॥
राम्चन्द्रलाइ छलि दुर् तिमिले गराया ।
सीता जसै म हरुँला तब फर्कि आया ॥५४॥

मारीचले यति हुकुम् जब ताहिं सून्यो ।
तेस्तो हुकुम् सुनि तहाँ मन भीत्र गून्यो ॥
बिन्ती गर्यो सकल तेज् प्रभुको जनाई ।
ख्वामित् भनेर मनले जय खुब् चिताई ॥५५॥

कस्ले गर्यो र उपदेश् तिमि आज आई ।
सीता म हर्छु मृग हो तँ भन्यौ मलाई ॥
त्यै शत्रु हो तिमि तसै कन मार ताहाँ ।
कूलै समेत् क्षय गराउन खोज्छ याहाँ ॥५६॥

को सक्छ जित्न र ठुलो तिमि सूर गर्छौ ।
यो सुर् लिया कुल समेत् तिमि आज मर्छौ ॥
एक् बाणले म कन चार् सय कोस सार्या ।
बालक् थिया त पनि भस्म सुबाहु पार्या ॥५७॥

आज्काल् गयाँ वन विषे मृगरूप धारी ।
एक् बाणले यहिं पनी त दिया पछारी ॥
छाद्दै रगत् अति डरायर भागि आयाँ ।
जावैन भन्छु अब खुप् सित चेत पायाँ ॥५८॥

तस्मात् तिमी पनि विरोध् मति यो न लेऊ ।
सीता म हर्छु भनि आग्रह छाडि देऊ ॥
सब् नष्ट हुन्छ तिमीले मति यस्ति लीया ।
देख्यौ खर त्रिशिर दूषण मारि दीया ॥५९॥