Jump to content

Page:Bhanubhaktako ramayan.pdf/65

From Nepali Proofreaders
This page has not been proofread

सीताजिलाइ अति सुन्दर मानि ताहाँ ।
ल्याऊँ टपक्क टिपि सुन्दरिलाइ याहाँ ॥
भन्ना निमित्त अति चित्त धरी गयाकी ।
पायाँ विपत् नकटि बुच्चि समेत् भयाकी ॥४८॥

ल्याऊ समर्थ छ भन्या तिमि आज जाऊ ।
साम्ने त हर्न छ कठिन् तिमि मन् न लाऊ ॥
एक् युक्तिले छल गरी कन हर्नु पर्ला ।
साम्ने कदापि न गया तहिं देह मर्ला ॥४९॥

तेस्ले बहूत भयमा परि बात् गर्याको ।
लस्कर् समेत् त्रिशिर दूषण खर् मर्याको ॥
सून्यो र बैन्हि कन खातिर खूप दीयो ।
एकान्तमा गइ लहड् पनि खूप लीयो ॥५०॥

सामान्य मानिस भया कसरी ति मार्या ।
लस्कर् खर त्रिशिर दूषण छुट्टि पार्या ॥
सामान्य होइन इ ता परमेश्वरै हुन् ।
नाहीं त भाइहरुका अघि टिक्तथ्यो कुन् ॥५१॥

ईश्वर् भया हुँदि कसै पनि मार्दछन् ती ।
सामान्य हो पनि भन्या हरुँला सिताजी ॥
ईश्वर् भया हुँदि विरोध् गरि खुस् हुन्याछन् ।
रीसै हुन्या छ भजुँला त म माथि ता झन् ॥५२॥

येती विचार् गरि तर्यो र समुद्र पारी ।
मारिच् जहाँ छ ऋषिका सरि रूप धारी ॥
पुग्यो तहाँ र रथ राखि नजिक् गयाको ।
विस्तार् गर्यो खरहरू सब नाश् भयाको ॥५३॥