मार्या खर त्रिशिर दूषणलाइ जस्सै ।
सीता र लक्ष्मण पनी प्रभु सीत तस्सै ॥
आया डराइ कन शूर्पणखा त भागी ।
रावण् जहाँ छ उहिं जाँ भनि जान लागी ॥४२॥
रावण् जहाँ छ उहिं पौंचि विलाप गर्दै ।
सब् भाइ बन्धुहरुका मनलाइ हर्दै ।
देख्यो तहाँ बहिनिलाइ त नाक् गयाकी ।
त्यो फेरि बुच्चि पनि कान न भै रह्याकी ॥४३॥
माया भयो बहिनि माथि र झट्ट ऊठ्यो ।
विस्तार सोध्न नजिकै पनि जल्दि छूट्यो ॥
हे बैन्हि कुन् पुरुष हो भन नाक काट्न्या ।
खूपै रहेछ सहजै पनि मर्न आँट्न्या ॥४४॥
जस्ले त नाक् सित इ कान् आज काट्यो ।
हे बैन्हि जान सुन त्यो अब मर्न आँट्यो ॥
यस्ता वचन् सुनि र नाम समेत् बताई ।
सीता र लक्ष्मण सहित् रघुनाथलाई ॥४५॥
तिन् छन् पराक्रमि ति पञ्चवटी बस्याका ।
ठोक्रा भिरी कन धनू पनि खुप् कस्याका ॥
गर्छू विचार मनले त म येहि मान्छू ।
सब् भस्म यो गरि दिनन् कि भनेर ठान्छू ॥४६॥
आई रह्याँछु म त खुप् सित मन् डराई ।
फिर्छन् ति सर्व ऋषिलाइ त खुस् गराई ॥
आश्चर्य मानि कन दौडि म याहिं आयाँ ।
विस्तार् पनी हजुरमा सब बिन्ति लायाँ ॥४७॥
Page:Bhanubhaktako ramayan.pdf/64
Appearance
This page has not been proofread
