Jump to content

Page:Bhanubhaktako ramayan.pdf/60

From Nepali Proofreaders
This page has not been proofread

प्रभूका साथैमा पछि पछि सुतीक्ष्णै पनि गया ।
अगस्तीका भाई सित पुगि त एक् रात् प्रभु रह्या ॥
ति अग्नीजिह्वा खूप् खुसि पनि भया ईश्वर भनी ।
चिह्नी ताहाँ तिन्ले विधि सित गर्या पूजन पनी ॥१८॥

तहाँ देखी सीतापति उठि सबेरै चलि गया ।
अगस्ती काहाँ छन् भनी खबर ली दाखिल भया ॥
अगस्तीले खुस् भै स्तुति गरि बहुत् मन् पनि धर्या ।
विराट् रुप्ले वर्णन् गरि कन त पूजा पनि गर्या ॥१९॥

सुन्दर् धनू र तरवार् सँग बाण् धर्याका ।
ठोक्रा त जोडि अघि इन्द्रजिले धर्याका ॥
ताहीं थिया सब दिया रघुनाथलाई ।
बिन्ती गर्या सकल भार् हर आज जाई ॥२०॥

आठ् कोसमा असल पञ्चवटी भन्याको ।
आश्रम् असल् छ रमणीय बहुत् बन्याको ॥
ताहीं बसेर कछु दिन् तिमिले बिताऊ ।
सब् साधु माथि करुणा तहिं गै चिताऊ ॥२१॥

यस्तो अगस्ति ऋषिको उपदेश पाई ।
श्री राम् तयार् पनि भया तहिं जानलाई ॥
मालुम् थियो त पनि जुन् ऋषिले बताया ।
सो मार्ग जान कन पाउ उतै चलाया ॥२२॥

जान्थ्या प्रभू अलिकती पर केहि जाई ।
जङ्गल् विषे अधिक वृद्ध जटायुलाई ॥
देख्या र राक्षस भनी कन मार्नलाई ।
माग्या धनू प्रभुजिले र लिला जनाई ॥२३॥