मान्र्या कुरा सुनि जटायु बहुत् डराई ।
राजाजिको प्रिय सखा हुँ भनी कराई ॥
गन्र्याछु हित् यहिं बसी म सिताजिलाई ।
कल्याण् मिलोस् हजुर देखि बहुत् मलाई ॥२४॥
श्री रामले पनि तहाँ अति खूसि मन्ले ।
आनन्द निर्भय दिया पछि फेरि तिन्ले ॥
ख्वामित् शरण् छु भनि खुप् सित बिन्ति लाया ।
श्री राम् तहाँ पछि त पञ्चवटी त आया ॥२५॥
डेरा पर्यो प्रभुजिको तहिं बीच वन्मा ।
एकान्त देखि कन हर्ष भयो र मन्मा ॥
आनन्दपूर्वक रह्या रघुनाथ ताहीं ।
आर्को त आश्रम नजीक थियेन काहीं ॥२६॥
एकान्त देखि कन लक्ष्मणले चरण्मा ।
बिन्ती गर्या रघुपते म त छू शरण्मा ॥
ज्ञान् कुन् कहिन्छ भनि कुन् त कहिन्छ विज्ञान् ।
जान्दीन केहि म विषे त ठुलो छ अज्ञान् ॥२७॥
आज्ञा हवस् सकल तत्त्व म सुन्न पाऊँ ।
जान्न्या पुरुष् अरु छ को र कता म जाऊँ ॥
यो बिन्ति लक्ष्मणजिको सुनि हर्ष पाया ।
लक्ष्मण्जिलाइ सब तत्त्व तहीं बताया ॥२८॥
यै ज्ञान् कहिन्छ सुन येहि कहिन्छ विज्ञान् ।
यो रित् गरी कन बस्या हुँदि छुट्छ अज्ञान् ॥
खोलेर येहि रितले प्रभुले बताया ।
लक्ष्मण्जिले पनि तहिं सब तत्त्व पाया ॥२९॥
Page:Bhanubhaktako ramayan.pdf/61
Appearance
This page has not been proofread
