Jump to content

Page:Bhanubhaktako ramayan.pdf/59

From Nepali Proofreaders
This page has not been proofread

मुक्ती श्री शरभङ्गको जब भयो तस्सै मुनीश्वर्हरू ।
आया भेट्न भनी बहुत् खुसि भई वन्मा थिया जो अरू ॥
हात् जोरी स्तुति खुप् गर्या ति ऋषिले ख्वामित् इनै हुन् भनी ।
कोमल् चित्त गरी तहाँ नजरले हेर्या प्रभूले पनी ॥१२॥

बिन्ती सब् ऋषिले गर्या हजुरमा हाम्री विपत्ती पनी ।
देख्या पूर्ण दया हून्या थिइ बहुत् आपत् रह्याछन् भनी ॥
जाऊँ सब् ऋषिका मढी मढि विषे वाहीं गई यो दया ।
होला चित्त विषे भनी ति ऋषिले भन्दा प्रभूजी गया ॥१३॥

देख्या तेस् वनमा अनेक् पृथिविमा खप्पर् र सोध्या तहाँ ।
कस्का खप्पर हुन् अनेक् नजरले देख्छू मर्याका यहाँ ॥
श्री सीतापतिका वचन् सुनि तहाँ बिन्ती ऋषीले गर्या ।
ई सिर् हुन् ऋषिका यहाँ छल परी धेरै ऋषीश्वर् मर्या ॥१४॥

राक्षस्का छलले बहुत् ऋषि मर्या भन्न्या कुरा यो सुनी ।
ताहाँ सब् ऋषिलाइ राखि सबका साम्ने प्रतिज्ञा पनी ॥
सब् राक्षस्हरुको म नष्ट गरुँला भन्न्या प्रभूले गर्या ।
खूसी मन् हुन गो र ताहिं ऋषि ता आनन्दमा सब् पर्या ॥१५॥

केही वर्ष बिताइ ताहिं हरिले सब् योगिको ताप् हर्या ।
माया फेरि सुतीक्ष्णका उपर भै प्रस्थान् प्रभूले गर्या ॥
जाहाँ भक्त सुतीक्ष्ण छन् तहिं गई दर्शन् प्रभूले दिया ।
पूजा पूर्ण गरी सुतीक्ष्ण ऋषिले राम्लाइ मन्मा लिया ॥१६॥

सायुज्यै मुक्ति मिल्ला तिमि कन सुन यो देह जैले त छुट्ला ।
भन्न्या आज्ञा प्रभूको सुनि कन अब ता कर्मको पाश टुट्ला ॥
भन्न्या यो मन् ऋषीको हुन गइ बहुतै चित्तमा हर्ष पाया ।
सीताराम्ले अगस्ती सित गइ कछु दिन् बस्न मन्ले चिताया ॥१७॥