Jump to content

Page:Bhanubhaktako ramayan.pdf/58

From Nepali Proofreaders
This page has not been proofread

को हौ स्त्री पनि साथमा छ किन यो आयौ बडा वन् महाँ ।
कस्तो सुर् मनमा छ फेर् अब उपर् जानू छ इच्छा कहाँ ॥
मैले सुन्दर गाँस् बनाउन असल् मान्याँ र सोध्याँ यहाँ ।
सब् नाम् काम समेत् बताउ तिमिले जुन् काम् छ जान्छौ जहाँ ॥६॥

राक्षस्का इ वचन् सुनी प्रभुजिले नाम् काम् बताया सबै ।
बाँच्नै मन् छ भन्या सिता र हतियार् छोडेर जाऊ उसै ॥
यस्तो बोलि सिताजिलाइ लिन सुर् बाँधेर राक्षस् जसै ।
दौडेथ्यो रघुनाथले पनि ति हात् दूवै गिराया तसै ॥७॥

जस्सै हात गिर्या तसै त रिसले खाँ रामलाई भनी ।
दौडन्थ्यो मुख बाइ फेर् प्रभुजिले काट्या ति गोडा पनी ॥
हात् गोडा न हुँदा त सर्प सरिको पस्‌र्यो भुमीमा जसै ।
हात् गोडा सब काटिया त पनि फेर् घस्रेर आयो तसै ॥८॥

घस्री घस्रि उ सर्दथ्यो प्रभुजिले काट्या तहाँ सिर् पनी ।
विद्याधर्गण हो छुटोस् अब सराप् जावस् परम्धाम् भनी ॥
राक्षस्देह मर्यो सराप् पनि टर्यो विद्याधरै फेर् भयो ।
श्री राम्को स्तुति खुप् गरेर खुसि भै फेर् स्वर्ग लोक्मा गयो ॥९॥

जस्सै स्वर्ग विराध् गयो प्रभुजिले रस्ता वनैको लिया ।
पालन् गर्छु म योगिको अब भनी मन्मा दया खुप् लिया ॥
ध्यान् गर्दै शरभङ्गजी वन महाँ जाहाँ बस्याका थिया ।
ताहीं श्री रघुनाथजी खुसि हुँदै पौंचेर दर्शन् दिया ॥१०॥

ताहाँ श्री शरभङ्गले प्रभुजिमा तन् मन् वचन् सब् धरी ।
आफ्नू कर्म जती थियो तहिं तती सम्पूर्ण अर्पण् गरी ॥
अस्सल् ताहिं चिता बनाइ हरिको दर्शन् नजर्ले गरी ।
ताहाँ देहदहन् गरी चलिगया संसार सागर् तरी ॥११॥