Jump to content

Page:Bhanubhaktako ramayan.pdf/47

From Nepali Proofreaders
This page has not been proofread

बर्को दूद घसी जटा मुकुट झैं बाँध्या दुवै भाइले ।
फिर् लौ जा भनि यो हुकुम् तहिं दिया राम्ले सिता माइले ॥
गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ ।
छोड्याँ देख्न जसै रुँदै रथ लिई दौडेर आयाँ यहाँ ॥६६॥

सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको ।
हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको ॥
यस्ता बात् गरि राम् गया भनि सबै बिस्तार् सुनाया जसै ।
कौशल्या दशरथ्जिलाइ रिसले वाग्बाण् बजारिन् तसै ॥६७॥

वाक्शर्ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती ।
भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरिर्ले गती ॥
ऐल्हे मर्छु सराप् पनी छ तिमिले खुप् पुत्रशोक्ले गरी ।
जस्तै हामि मर्यौं उसै गरि मर्या ठूलो विपत्ती परी ॥६८॥

येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी ।
तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी ॥
सब् विस्तार सरापको कहि सकी हा राम सीता गरी ।
प्राणै त्याग् दशरथ्जिले जब गर्या खल्बल् पर्यो तेस् घरी ॥६९॥

प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दरबार् गया ।
तेल्मा ती दशरथ्जिलाई धरि फेर् छोरा झिकाई लिया ॥
चाँडै आउनको वशिष्ठ गुरुको आज्ञा छ भन्न्या सुनी ।
दूतैका सँग लागि भाइ कन ली आया भरत्जी पनि ॥७०॥

कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ ।
सब् वृत्तान्त गरी भरत् कन त सब् विस्तार् सुनाइन् तहाँ ॥
सून्या शोक् मनमा पर्यो भरतका साह्रै रिसाया पनी ।
पापी हौ तिमि कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥७१॥