कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया ।
कौशल्याजि जहाँ थिइन् तहिं रुँदै धाउँदै भरत्जी गया ॥
हे मातर् मनमा कदापि न परोस् मत् छैन मेरो रती ।
पाप् लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मार्या जति ॥७२॥
बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्जी तहाँ ।
मन्त्रीवर्ग समेत् वशिष्ठ गुरुजी पाँच्या नजिक्मा तहाँ ॥
देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी ।
शोक् गर्नु बढिया त छैन किन शोक् गर्छौ महाराज् भनी ॥७३॥
नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरूले हर्या ।
सब् आज्ञा गुरुको लिई भरतले काम्काज् पिताको गर्या ॥
राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी ।
तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी ॥७४॥
माता मेरि त राक्षसी सरि भइन् इन्का नजिक्मा यहाँ ।
बस्नू योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ ॥
यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी ।
मालुम् ता गुरुमा थियो तर पनी भन्छन् उचित् हो भनी ॥७५॥
बाबाको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई ।
चौधै वर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर् भई ॥
सीताराम् यहि बातले वन गया याहाँ हजुर्ले पनी ।
गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥७६॥
यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ ।
उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ ॥
कीर्तीमा अपकीर्ति पारि कसरी राज् गर्नु याहाँ बसी ।
दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥७७॥
Page:Bhanubhaktako ramayan.pdf/48
Appearance
This page has not been proofread
