Jump to content

Page:Bhanubhaktako ramayan.pdf/46

From Nepali Proofreaders
This page has not been proofread

गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ ।
तेस्रो वास् रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ ॥
चौथो वास् रघुनाथको हुन गयो आश्रम् भरद्वाजको ।
राम्ज्यूको ऋषिले गर्या स्तुति तहाँ सुर् जानि काम्काजको ॥६०॥

पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी ।
राम्ज्यूलाइ यमुनाजि तारि ति कुमार् साँझ्मा त फर्क्या पनि ॥
सीताराम् पनि चित्रकुट् पुगि गया वाल्मीकि बस्थ्या जहाँ ।
वाल्मीकी कन दण्डवत् गरि बहुत् आनन्द मान्या तहाँ ॥६१॥

वाल्मीकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ ।
कुन् जग्गा बढिया छ सब् तरहले होला सुबिस्ता कहाँ ॥
सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले गर्याका कुरा ।
सोही माफिक बिन्ति बात् पनि गर्या वाल्मीकि छन् झन् पुरा ॥६२॥

जान्दैनन् महिमा बडा ऋषि पनी जस्का त एक् नामको ।
यस्ता हौ रघुनाथ् हजूर् कन यहाँ क्या काम् असल् ठामको ॥
सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर् कहाँ ।
विस्तार् एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ ॥६३॥

व्याधा हूँ अधिको म सप्तऋषिका निर्मल् कृपाले गरी ।
वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम्नाम उल्टा गरी ॥
उल्टै नाम कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ ।
गङ्गाका र इ चित्रकूट गिरिका बिच्का जगामा रहू ॥६४॥

वाल्मीकि ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया ।
गङ्गाका र ति चित्रकूट गिरिका बिच् पारि बस्ता भया ॥
गङ्गा देखि सुमन्त्र फर्कि दशरथ् जाहाँ बस्याका थिया ।
ताहाँ जल्दि गयेर जो छ समचार् बिल्कुल् सुनाई दिया ॥६५॥