Jump to content

Page:Bhanubhaktako ramayan.pdf/43

From Nepali Proofreaders
This page has not been proofread

बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया ।
यस्तो देखि असह्य भो र दुनियाँ सब् शोक गर्दा भया ॥
सीताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई ।
सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई ॥४२॥

यो अन्याय भयो यहाँ त न बसौं जाऔं प्रभूका सँगै ।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता न गै ॥
यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनी ।
सब् विस्तार् गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनी ॥४३॥

हे लोक् हो अति गर्दछौ तिमि त शोक् यो शोक ता छाडि द्यौ ।
साक्षात् विष्णु इ हुन् भनेर मनले श्री रामलाइ जानि ल्यौ ॥
पृथ्वीको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ ।
साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥४४॥

यस् बात्ले ऋषिले मनुष्यहरुको खुप् मन् बुझाई दिया ।
पौंच्या राम् पनि कैकयी र दशरथ् जाहाँ बस्याका थिया ॥
हे मातर् वन जानलाइ अब ता आयौं जना तिन् चली ।
बीदा जान मिलोस् म जान्छु वनमा रिस् राग् रतीभर् न ली ॥४५॥

आज्ञा जान मिलोस् पिताजिकि पनी जान्छू सदा खुस् म छू ।
दुख् पाउनन् कि भनी पिताजिकन शोक् मन्मा न लागोस् कछू ॥
कैकेयी यति बात् सुनी खुसि भई बस्तर् पुराना दिइन् ।
लाया श्री रघुनाथले ति कपडा सीताजिले ता लिइन् ॥४६॥

यस्ता वस्तर म लाउँ आज कसरी भन्न्या मनैमा धरी ।
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
श्रीराम्ले मुटुरा गरी ति कपडा हात्मा जसै ता लिया ।
त्यो देखी कन राजपत्निहरु सब् रोया तहाँ जो थिया ॥४७॥