यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जाहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझीकन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
यो बिन्ती गरि पाउमा जब पर्या बीदा दिई मन् बुझाइ ।
आँसू थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत् मिलिगयो ताहाँ बिदा रामलाइ ।
लक्ष्मण्ले पनि साथ जान्छु म भनी बिन्ती गर्या जानलाइ ॥३७॥
लक्ष्मण्लाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया ।
सीतालाइ तिमि ता घरै बस भनी पैल्हे त भन्दा भया ॥
पङ्खा छत्र चमर् रहित् प्रभु कनै देख्ता त शङ्कित् भइन् ।
क्या कारण् हुनगो भनीकन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
शङ्कित् जानकिलाइ देखि प्रभुले तीमी घरैमा यहाँ ।
सासूको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
पीताको वचनै लिई सिर उपर् जान्छू म वन्मा प्रिये ।
चौधै वर्ष बिताइ जल्दि म यहाँ फिन्र्या छु निश्चै श्रिये ॥३९॥
यस्ता बात् प्रभुका सुनी कन तहाँ सीताजि मूर्छा परिन् ।
पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन् ॥
सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया ।
ब्राह्मण् खूसि सदा रहुन् भनि तहाँ दौलत् बहूतै दिया ॥४०॥
कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मण्जिले बिन्ति लाइ ।
माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ ॥
येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया ।
सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया ॥४१॥
Page:Bhanubhaktako ramayan.pdf/42
Appearance
This page has not been proofread
