दुष्टे आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ ।
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैचि ऐल्हे लियौ ॥
कैकेयी सित बात् वशिष्ठ गुरुले येती गर्याथ्या जसै ।
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै ॥४८॥
सीताराम् वनमा चल्या रथ चढी लक्ष्मण् गया साथमा ।
वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस् रातमा ॥
सुन्दर् एक् तमसा नदी तहिं थिइन् तिन्का दुवै तिर् भरी ।
आयो लस्कर राम्जिका सँग बस्यो खाली अयोध्या गरी ॥४९॥
फिर्नन् ता रघुनाथ् सँगै फिरियला जानन् चलौंला सँगे ।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं काहाँ बसौंला न गै ॥
यस्तो सुर् प्रभुले बुझी कन तहाँ युक्ती गर्या छल्नको ।
प्रातःकाल भयो उठेर झटपट् मन्सुब् गर्या चल्नको ॥५०॥
फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया ।
फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया ॥
यस् रित्ले दुनियाँ फिराइ सहरै श्री राम् वनैमा गया ।
गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया ॥५१॥
सुन्दर् वृक्ष थियो ठुलो तिर विषे एक् शिंशपाको तहाँ ।
दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
फल् फुल् ली कन भेट्नलाई गुहजी आया बडा हर्षले ।
निर्मल् देह भयो तसै बखतमा श्रीरामका स्पर्शले ॥५२॥
मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् गर्याँ बिन्ति यो ।
सेवक् हूँ करुणानिधान् मकन होस् माया र मर्जी छ जो ॥
यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे आज ता ।
वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छू म ता ॥५३॥
Page:Bhanubhaktako ramayan.pdf/44
Appearance
This page has not been proofread
