सन्तोष्ले दशरथ्जिका मन विषे आनन्दमङ्गल् भयो ।
राम्लाई अब राज्य द्यूँ भनि उसै मन् यस् लहड्मा गयो ॥
यस्को मन् हुन गो र डाकि गुरु थ्यैं यस्तो हुकुम् भो पनी ।
भोली राज्य म दिन्छु पुत्र कन सब् सामग्रि ल्याऊ भनी ॥६॥
मन्त्री डाकि हुकुम् भयो सँग रह्या जो जो कहन्छन् गुरु ।
सो सो चिज् झटपट् तयार् गर अवर् सब् काम छोड्नू बरु ॥
मन्त्रीले पनि यो हुकुम् सुनि तहाँ साथै गुरूका रह्या ।
चाहिन्छन् जति चिज् ति खोज्न गुरुले खोलेर सब् चिज् कह्या ॥७॥
मन्त्रीलाइ अह्राइ राघवजिका साथ्मा वशिष्ठै गया ।
पैल्हे श्री रघुनाथले गुरु भनी सम्मान गर्दा भया ॥
हे त्रैलोक्यपते ! गुरू हुन त हूँ तिम्रो म क्या हूँ गुरू ।
इन्का हुन् इ गुरू भनेर इ सबै भन्छन् भनुन् लौ बरू ॥८॥
तिम्रो दर्शन पाउँला भनि यहाँ प्रोहित् भयाकै म हूँ ।
गुह्यै खुल्छ भनेर डर् हुन गयो धेरै कुरा क्या कहूँ ॥
खोल्न्या छैन म गुह्य चुप्प रहुँला सब् जान्दछू ता पनी ।
जानी जानि म बिन्ति गर्न अहिले आयाँ हजुर्मा पनी ॥९॥
भोली हुन्छ तिलक् हजुर् कन यहाँ सामग्रि जम्मा भयो ।
पृथ्वीमा सुकला हवस् हजुरको सब् शास्त्रले भन्छ यो ॥
सब् इन्द्रीय जितेर आज उपवास् गर्नू सिताले सँगै ।
आज्ञा पाउँ म जान्छु काम् छ बहुतै सब् काम् विचार्छू म गै ॥१०॥
यस्तो बिन्ति गरी वशिष्ठ गुरु फेर् जस्सै गयाथ्या पनी ।
राम्ले लक्ष्मणथ्यैं भन्या म तिमिलाइ काम् गर्न द्यूँला भनी ॥
छैनन् भाइ भरत् पनी त तिनका खातिर् छ मेरी दया ।
कौशल्या सुनि खुस् हुनिन् भनी त जो सम्चार् बताउँदै गया ॥११॥
Page:Bhanubhaktako ramayan.pdf/37
Appearance
This page has been proofread
