एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही ।
हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा गई ॥
आकाश्मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ताहीं गया ।
नारद्जी कन दण्डवत् गरि तहाँ राम्जी बहुत् खुस् भया ॥१॥
संसारी म थियाँ बडो हुन गयाँ दर्शन् मिलेथ्यो जसै ।
यो भाग्योदय हो बुझ्याँ पनि यहाँ दर्शन् मिल्याको उसै ॥
मैले गर्नुछ काम् कउन् हजुरको चाँडो उ आज्ञा हवस् ।
त्यो काम् सिद्ध गराउँला हजुरको आनन्द मन्मा रहोस् ॥२॥
यस्ता बात् प्रभुका सुनी कन जवाफ् सोही बमोजिम् दिया ।
नारद्ले बहुतै गर्या स्तुति तहाँ राम्लाइ मन्मा लिया ॥
बिन्ती गर्नु कुरो थियो मन विषे बिन्ती गर्या त्यो पनी ।
ब्रह्माको विनती लिई हजुरमा आई रह्याँछू भनी ॥३॥
भूको भार म दुष्ट मारि हरुँला जान्छू अयोध्या महाँ ।
भन्न्या येति वचन् गरी कन हजुर् पाल्नू भयेथ्यो यहाँ ॥
यस्तो हो तर गादि दीन दशरथ् राजाजिका मन् भयो ।
ख्वामित्ले अब राज्यमा भुलिदिया भार् हर्नु काम् ता रह्यो ॥४॥
नारद्का इ वचन् सुनी खुसि भई उत्तर् प्रभूले पनी ।
जल्दी बक्सनु भो म राज्य न गरी भोली म जान्छू भनी ॥
ख्वामित्का इ वचन् सुनेर बहुतै नारद्जि खूसी भया ।
तिन् फेरा प्रभुको प्रदक्षिण गरी आकाश्गतीले गया ॥५॥
Page:Bhanubhaktako ramayan.pdf/36
Appearance
This page has been proofread
श्रीआयोध्याकाण्ड
