राजाले त खतम् गर्या दिन भनी क्या गर्दछिन् कैकयी ।
यस्मा विघ्न कदापि पर्न नदिउन् लक्ष्मी र दुर्गा भई ॥
कौशल्या पनि यो विचार् गरि तहाँ गर्थिन् पुजा देविको ।
द्यौताका मनमा भन्या ठहरियो काम् विघ्न गर्नू निको ॥१२॥
वाणी ! गै तिमि विघ्न पारि कन आउ ती मन्थरा कैकयी ।
द्वी स्त्रीका घटमा पसेर तिमिले काम् सिद्ध लाऊ गई ॥
द्यौताका इ वचन् सुनेर झटपट् तेस् मन्थरामा पसिन् ।
कैकेयी कन खुप् भुलाउन भनी फेर् कैकयीमा पसिन् ॥१३॥
वाणीका वशमा पर्याकि छँदि ती जाहाँ थिइन् कैकयी ।
काम् बित्ला भनि चट्पटाइ तहिं झट् त्यो मन्थरा गै गई ॥
नाना छल् गरि ठिक्क पारि कन सब् वृत्तान्त विस्तार् भनी ।
द्वी वर् छन् तिमि मागि ल्यौ भनि ठुलो सूचन् गरी यो पनी ॥१४॥
वाणीले ति भुलाइयाकि छँदि लौ भन्दी भइन् कैकयी ।
राम्लाई वनवास् भरत् कन रजाइँ माग्छू म चाँडो गरी ॥
द्वी वर्ले जब काम सिद्ध गरुँला द्यूँला सये गाउँ भनिन् ।
बीदा दी घर मन्थरा कन फिराइ रिस् गर्न लाग्दी भइन् ॥१५॥
सुन्दर् वस्त्र निकालि फालि कपडा मैला शरिर्मा धरिन् ।
आभूषण् कन फ्याँकि खूप रिसले खाली जमिन्मा परिन् ॥
सज्जन् बेस् सुमती पनी कुमतिका सङ्ले त बिग्री गयो ।
भन्छन् जो दुनियाँ उ लक्षण यहाँ ठिक् कैकयीमा भयो ॥१६॥
कैकेयी सित बस्नलाइ खुशिले राजा गयाथ्या जसै ।
देख्यानन् र तहाँ कता गइ भनी चाकर्नि सोध्या तसै ॥
क्रोधागार विषे भयाकि त बुझ्यौं कारण् छ कुन् कत्ति यो ।
बूझ्याको पनि छैन गै हजुरले बुझ्नू हवस् क्यान हो ॥१७॥
Page:Bhanubhaktako ramayan.pdf/38
Appearance
This page has been proofread
