ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी ।
मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी ॥
देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी ।
प्रेम्का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी ॥१३६॥
येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ ।
सीतालाइ लियेर राज्य सुख भोग् राम्ले गर्या क्यै तहाँ ॥
क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी ।
भानिज्लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी ॥१३७॥
बीदा श्री दशरथ्जिले पनि दिया बीदा मिलेथ्यो जसै ।
एक् शत्रुघ्न लिई भरत्जि त गया मामा कहाँ पो तसै ॥
आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर् ।
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर् ॥१३८॥
सीताराम् अघि तप् गरिन् र त यहाँ छोरा बुहारी भया ।
कौशल्या कन ता मिल्यो अदितिको शोभा सबै ताप् गया ॥
सीताराम् पनि लोकमा सकलको आनन्दमङ्गल् गरी ।
चेष्टा मानिसको गरी कन रह्या त्रैलोक्यका नाथ् हरी ॥१३९॥
इति श्रीबालकाण्ड ॥
Page:Bhanubhaktako ramayan.pdf/35
Appearance
This page has been proofread
