हे राजन् ! दशरथ्जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी ।
भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी ॥
मारिच्लाइ सुबाहुलाइ अरु ता को जित्न सक्न्या थिया ।
राम्ले मारिचलाइ फेंकि सहजै सूबाहु मारी दिया ॥१०२॥
पत्थर् भै कति वर्ष सम्म रहँदी गौतम्कि नारी थिइन् ।
पाऊले तहिं कुल्चँदा उठि गइन् जस्ता कि तस्ती भइन् ॥
याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ ।
देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ ॥१०३॥
चाँडो आज नजर् गराउ भनि यो विस्तार् गर्याथ्या जसै ।
मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै ॥
यै बिच्मा ऋषि थ्यैं भन्या जनकले राम्ले उचालुन् धनू ।
सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू ॥१०४॥
साँचा वाणि सुन्या र सोहि रितका बात्चित् गर्याथ्या जसै ।
पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै ॥
ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया ।
वाम् हात्मा सहजै उचालि धनु त्यो राम्ले त लींदा भया ॥१०५॥
ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ धनुष्कै जसै ।
दूई टूक भई गिर्यो उ धनु ता खूसी भया सब् तसै ॥
हर्षै हर्ष भयो तसै बखतमा सारा जनक्पुर् भरी ।
आदर् खुप् प्रभुको गर्या जनकले आलिङ्गनादी गरी ॥१०६॥
सीताजी पनि रामका सिर उपर् माला कनक्को धरी ।
छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी ॥
मालिक् हुन् दशरथ् खबर् दिनु पर्यो ती छन् अयोध्या महाँ ।
जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ ॥१०७॥
Page:Bhanubhaktako ramayan.pdf/29
Appearance
This page has been proofread
