यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया ।
विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया ॥
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या ॥
सब्ले जानु पर्यो जनक्पुर महाँ भन्न्या हुकुम् यो गर्या ॥१०८॥
जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्पुर् पुग्यो ।
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥
यस्ता रित् सित सब् गया जति थिया सेना जनक्पुर् महाँ ।
दाखिल् भो दशरथ्जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥
ताहाँ श्री दशरथ्जिको जनकले आदर् बहूतै गर्या ।
लक्ष्मण्ले सँग राम् पनी तहिं पिताजीका चरण्मा पर्या ॥
बस्नालाइ हवेलि सुन्दर जनक्जिले खटाया जहाँ ।
खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ ॥११०॥
सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या ।
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्मा चिराक् खूप् बल्या ॥
जो मण्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या ।
मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या ॥१११॥
यस्तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको ।
हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको ॥
राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया ।
भाईका त भरत्जिलाइ र ति विर् शत्रुघ्नलाई दिया ॥११२॥
सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला ।
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥[1]
- ↑ उर्मिला र माण्डवीमा अनुप्रास मिलेको छैन । भरतकी रानिको नाऊँ माण्डवी हो औ शत्रुघ्नकी रानीको नाऊँ श्रूतकीर्ति हो । वाल्मीकिय रामायण–नमेवमुक्त्वा जनको भरत