देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् ।
पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या ।
तर्नाको प्रभुले जसै मन गर्या माझी चरण्मा पर्या ॥९६॥
ख्वामित् ! ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो ।
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो ॥
तस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् ।
डुङ्गाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥
तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्यौ ।
येती बात गर्यौ भने त तिमि ता गङ्गाजिका पार् तर्यौ ॥
यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया ।
माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया ॥९८॥
यस्ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया ।
श्याम्सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया ॥
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी ।
आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी ॥९९॥
पूग्या प्रश्न गर्या सबै कुशलको पाऊ महाँ सिर् धरी ।
देख्या सुन्दर राज्कुमार् जनकले पूज्या ति ईश्वर् सरी ॥
पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी ।
जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी ॥१००॥
ब्रह्मन् ! पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी ।
क्लेश्को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी ॥
विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्को जसै ।
यस्ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै ॥१०१॥
Page:Bhanubhaktako ramayan.pdf/28
Appearance
This page has been proofread
