केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया ।
जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्दैन यस्ता थिया ॥
गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ ।
विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ! ताडका छे यहाँ ॥७८॥
त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्लाइ बाधा पनी ।
गर्छे यस् कन मारि बक्सनु हवस् यो पापिनी हो भनी ॥
विश्वामित्रजिका वचन्कन सुनी श्रीरामजीले पनी ।
टङ्कार् खुप् धनुको गर्या सुनि यहाँ त्यो जल्दि आवस् भनी ॥७९॥
त्यो टङ्कार् सुनि ताडका पनि तहाँ दौडेर आई जसै ।
हान्या बाण् प्रभुले गड्यो हृदयमा त्यो बाण् मरी त्यो तसै ॥
यक्षी थी अघिकी सराप् परि तहाँ तेस्ती भयाकी थिई ।
राम्ले मारि दिंदा त स्राप् पनि टर्यो फेर् यक्षिको रुप् लिई ॥८०॥
श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्ले नमस्कार् गरी ।
स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्मा चढी ॥
विश्वामित्र ऋषी बहुत् खुसि भया यो कार्य देख्या जसै ।
जो सब् शास्त्ररहस्य हो सब दिया ती रामलाई तसै ॥८१॥
कामाश्रम् रमणीय थल् तहिं थियो एक् रात् तहाँ वास् गरी ।
फेर् सिद्धाश्रममा गया रघुपती सब्लाइ मङ्गल् गरी ॥
तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्या ।
मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्या ॥८२॥
विश्वामित्रजिलाइ भन्नु पनि भो मारिच् सुबाहू कहाँ ।
बस्छन् यज्ञ ठुलो गरी लिनु भया ती आउँथ्या की यहाँ ॥
भेटै आज भयेन मार्नु कसरी यो मर्जि सून्या जसै ।
विश्वामित्र ऋषी अरू ऋषि लिई होम् गर्न लाग्या तसै ॥८३॥
Page:Bhanubhaktako ramayan.pdf/25
Appearance
This page has been proofread
