दिन् मध्याह्न भयो तसै बखतमा आया ति राक्षस् पनी ।
मर्न्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी ॥
काहीं हाड खसाउँछन् कहिं रगत् यस्ले प्रकार्ले गरी ।
आया ती जब यज्ञमा प्रभुजिले हान्या अगाडी सरी ॥८४॥
मारिच्लाइ त बाणले जलधिका तिर्मा पुर्याई दिया ।
अग्नीबाण धरी सुबाहु कन ता भस्मै गराई दिया ॥
तिन्का फौज् पनि ताहिं लक्ष्मणजिले मारी सक्याथ्या जसै ।
खूसी भै कन पुष्पवृष्टि गरियो सब् देवताले तसै ॥८५॥
विश्वामित्र बहुत् प्रसन्न हुनु भै राम्लाइ काख्मा लिया ।
भोजन् गर्न निमित्त राम् कन तहाँ मीठा फलादी दिया ॥
तिन् दिन् ताहिं मुकाम् गर्या प्रभुजिले वार्ता कथाको गरी ।
चौथा दिन् ऋषिले गर्या विनति एक् राम्का अगाडी सरी ॥८६॥
हे राम् ! जाउँ जनक्जिका पुरि महाँ राजा जनक् छन् बडा ।
गर्नन् आदर भक्तिले हजुरका साम्ने हुन्या छन् खडा ॥
ताहाँ एक शिवको धनुष् पनि छ बेस् देखीयला त्यो पनी ।
यो बिन्ती ऋषिको सुनेर रघुनाथ् खूसी भया बेस् भनी ॥८७॥
विश्वामित्र र भाइ लक्ष्मण लिई श्रीराम् हिंड्याथ्या जसै ।
आश्रम् गौतमको पर्यो नजरमा गङ्गाकिनार्मा तसै ॥
आश्रम्का नजिकै असल् फल सहित् फुल्को बघैंचा थियो ।
जन्तू नाम् त थियेन कोहि त पनी संभार्विनै त्यो जियो ॥८८॥
मालुम् राम्कन क्या कहीं कमि थियो जो ता जगत्का धनी ।
सोध्या तै पनि यो असल् छ किन यो रित्तै बघैंचा भनी ॥
विश्वामित्र थिया सबै गुणनिपुण् विस्तार् सुनाया पनी ।
गौतम्को अघि बस्ति हो अब भन्या छैनन् यहाँ क्वै पनी ॥८९॥
Page:Bhanubhaktako ramayan.pdf/26
Appearance
This page has been proofread
