राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी ।
इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी ॥
यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो ।
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥
यो बिन्ती दशरथ्जिको जब सुन्या ताहीं गुरूले पनी ।
राम्को गुह्य कुरो सबै भनि दिया यस्ता इ राम् हुन् भनी ॥
हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी ॥७३॥
भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या ।
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्या ॥
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
ईश्वर्लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥
खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी ।
सोही सत्य गराउना कन यहाँ जन्म्या परात्मा पनी ॥
शेष् हुन् लक्ष्मण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार् ।
हुन् को जान्दछ तत्त्व यो बुझ तिमी लीला प्रभूकी अपार् ॥७५॥
मुल् शक्ती प्रभुकी अनन्त गुणकी सो दिव्य मूर्ती बनी ।
छोरी भै ति बस्याकि छन् जनककी सीता छ नाऊँ पनी ॥
सीता राम् दुइको विवाहविधिले संयोग् गराऊँ भनी ।
विश्वामित्रजिका भयो र मनमा आई रह्याछन् पनी ॥७६॥
दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै ।
खुसी भै दशरथ्जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै ॥
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया ।
आशिर्वाद् दशरथ्जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया ॥७७॥
Page:Bhanubhaktako ramayan.pdf/24
Appearance
This page has been proofread
